कानुन पढ्नेको संख्या बढेको बढ्यै
काठमाडौँ — ‘कानुन किन पढ्ने ?’ विद्यार्थीलाई यस्तै लागीरहन्छ । समाजमा उखान छ– ‘न्यायको नौ सिङ हुन्छ ।’ सर्वसाधारणले सिङ भन्नेबित्तिकै हान्ने साँढेगोरु या गाई, अर्ना आदिको सिङ सम्झिन्छौं । त्रास भएझैं लाग्छ । कानुन विषय पढ्दै गरेका विद्यार्थीलाई कस्तो लाग्छ ? काठमाडौंको जमलस्थित केन्द्रीय कानुन पुस्तकालयमा भेटिएका विद्यार्थीमध्ये चारजनाको अनुभव यस्तो छ ।
डोटीका विशालदत्त भट्ट बिएएलएलबी तेस्रो सेमेस्टरका विद्यार्थी हुन् । उनी काठमाडौंको प्रदर्शनीमार्गस्थित नेपाल ल क्याम्पसमा पढ्छन् । उनी साहित्यमा रुचि राख्छन् । सिर्जनामा उत्तिकै सक्रिय छन् । र यतिखेर उनको पहिलो कृति ‘मेटाफर’ कथा संग्रह प्रकाशनको अन्तिम तयारीमा छ ।
‘मैले डोटीबाटै एसएलसी पास गरें,’ विशाल भन्छन्, ‘म म्याथ विषय कमजोर थिएँ । बुवा वकिल हुनुहुन्छ । मलाई पनि कानुन पढ्ने रहर जाग्यो । त्यसपछि काठमाडौंको बसुन्धारासिथत ऋतु एकेडेमीबाट कानुन विषय लिएर कक्षा ११ र १२ पढें । पास गरें । अहिले बिएएलएलबी पढ्दैछु ।’
पुस्तकालय अध्ययन कक्षको टेबुलमा सँगै भेटिए सृजना शर्मा र अस्मिता थापा । दुवैजना ललितपुरको सानेपास्थित नेसनल कलेजका छात्रा हुन् । बिएएलएलबी चौथो वर्षमा पढ्छन् । ‘हामी दुई वार्षिक परीक्षा प्रणालीअनुसार अन्तिम ब्याचका विद्यार्थी हौं,’ सृजनाले भनिन् । संयोग यी दुवैजनाले प्लस टु साइन्स गरेर कानुन विषय रोजेका हुन् । किन नै कानुन ? ‘बुवा पनि वकिल हुनुहुन्छ,’ सवाल फुत्किन नपाउँदै सृजनाले भनिन्, ‘मैले बुझें यो स्वतन्त्र पेसा हो । त्यसैले कानुन पढें । अब पढिसकेपछि कानुन व्यवसायी बन्नेछु ।’ उनको ठम्याइ छ, साइन्स नै पढेको भए धेरै घोटिनु पर्थ्यो । आफूले रोजेको विषय पढेकोले सजिलो भएको छ । कानुनसित समाज जोडिएको छ । विज्ञानमा त्यो हुन्न ।